Pages

Tuesday, September 6

काठमाडौं खाल्डो

काठमाडौं खाल्डो,
म भासिंदैछु दिनहुँ
कस्तो उकुसमुकुस छ यहाँ
सास फेर्ने हावासम्म छैन
जता फर्किए पनि भित्तो
यहाँ किन निकास छैन ?
कस्तो अत्यास लाग्दो समय
उज्यालोको झिल्कोसम्म छैन
ए आकास... तिमी कहाँ छौ ?
माथि माथिसम्म अहँ देख्दिन म त
म निसासिएको बेला
एक धर्सो हावा फैलाइदिन सक्दैनौ ?

हिजो देखेको सपना सबै भ्रमजस्तो लाग्छ आज
हो सपना देख्दा देख्दै म बिपना नै नचिन्ने भएँ क्यारे
हुन त,
रंगीन सपना र सादा जीवनको भेद मलाई राम्रोसँग थाहा छ
तर म त अजीव सपना भएँछु
म, आफैं सपना... आपूm आफ्नै सपना
अब तिमी नार्सिजम नभन, मैले भनेको कुरा अर्कै हो
तिमी बुझ्छौ तर पनि बुझ्दैनौ
किनकी मलाई नबुझ्नु तिम्रो विशेषता हो
कसैले पनि बुझ्दैन,
नबुझ्नु नै यो दुनिंयाको विशेषता हो
नबुझ्न सजिलो छ ।

तर म बुझ्छु
मलाई सास फेर्ने हावा किन छैन थाहा छ
उज्यालोको धर्को किन छैन थाहा छ
बाहिर निस्कने बाटो किन छैन थाहा छ
तिमीलाई पनि थाहा छ
हो, हो म मेरो सपनालाई प्रेम गर्छु
र आज नभए भोलि, भोलि यही सपनाले
चारैतिरका ढोका खोलिदिनेछ
त्यसबेला तिमी ट्वाल्ल परेर मलाई नहेर्नू
फोक्सोलाई पुग्ने गरी सास फेर्नू
आँखाभरी भरी संसार हेर्नू
तर हतास नहुनू
त्यो बलेको बत्ति निभ्ने छैन

काठमाडौं खाल्डो,
मेरो परिक्षा लिन्छ दिनहुँ ।

0 comments: