Pages

Monday, September 27

जब तिमी

जब तिमी रिसाउँछौ
सोच्छु अब म टाढा जान्छु
धेरै नजिक भएँ
तिमीलाई धेर भएँ

जब गालि गर्छौ
सोच्छु बोल्दिन कहिल्यै
अति धेरै पोखिएँ
तिमीलाई पुग्यो

जब बेवास्ता गर्छौ
सोच्छु म व्यर्थ छु
यति आफ्नी भएँ
कि पराइ भएँ

जब टाढा जान्छौ
सोच्छु रित्तिएँ अब
जति बाँच्नु बाँचें
अब पलायन हुन्छु

तर एकपटक फर्कियौ भने फेरी
म यति डुब्छु कि बिर्सन्छु सबै
उसैगरी तिमी मै समर्पित हुन्छु
चाहिंदैन मलाई अरु केही पनि

जब हाँसी दिन्छौ फूल फुल्छ मनमा
नजिक आई दिन्छौ जून खेल्छ मनमा

के जादु होला तिमीभित्र त्यस्तो
कुन शक्तिले तान्छौ मलाई यसरी
तिमी बाहेक अर्को संसार नै छैन
भन तिमीबीना म बाँचुँ कसरी

Monday, September 13

न कविता न गजल

मेरो जस्तै गुनासोको थाक होला तिमीसँग
अलिकति समयको माग होला तिमीसँग

आशा हो कि निराशा हो नबुझिने गरी
बद्लिरहने मनको भाव होला तिमीसँग

एक्लोपन नै रोज्ने भए किन जोडिंदा हुन् नाता
अँध्यारिएको मुहारको के जवाफ होला तिमीसँग

सपना त प्यारै हुन्छ बिपना पो सास्ती
अन्तरले बोल्ने कस्तो आवाज होला तिमीसँग

गजल लेख्ने प्रयास गरेको भएन । न कविता न गजल... हा हा हा... के नाम दिने यसलाई ? कुन विल्ला झुण्ड्याउने ?

Saturday, September 11

तिमी

शिरानी बिझाउँदा तिमीलाई सम्झन्छु
त्यो छातिको आडमा आँखा चिम्ली पल्टन्छु
क्षणभरमै स्वप्नलोकको सयरमा पुग्छु म
बिसञ्चोमा निदरीलाई यसैगरी डाक्छु म

तिम्रो हत्केलाभित्र मुहार लुकाई
तिम्रो अंगालोभित्र आफैंलाई अटाई
बिर्सें आफैंलाई अनगिन्ति पटक
तिमीसँग हुँदा हर खुशी पाउँछु म

सम्झँदा नि खुशीको वर्षात गर्ने
आफूभित्र समेटेर पूर्णता दिलाउने
तिमी मेरै निम्ति आएको देवदूत झैं
जति हेर्यो उति मग्न भई डुब्छु म

मनको मन्दिरमा सजेको देवता
वरदानको मुद्रामा मुस्काएको मुहार
आस्थाले झन् झन् झुक्दैछु तिमीमा
सुरक्षा र आँट तिमीमै भेट्छु म

Wednesday, September 8

सुन्दरता

मुसुमुसु हाँसी दिव्य प्रकाश भर्ने
सकारात्मक उर्जा सबैतिर छर्ने
तिमी फूल जस्ती, जून जस्ती
मायाको अर्को नाम हे कोमलाङ्गी
शुभकामना तिमीलाई जन्मदिनको मंगल कामना

तिमी गौरव बन्नेछ्यौ आफन्त साथीलाई
तिमी हिम्मत बन्नेछ्यौ चिन्नेहरु सबैलाई
म कुरिरहेंछु त्यही एक क्षणलाई
जब देख्छ विश्व सारा श्रद्धाले तिमीलाई
उसैगरी मुसुमुसु हाँसेर हेर्दी हौ
सबैको निम्ति खुशी प्रार्थना गर्दी हौ
तिमी प्रेमरुपी शक्तिरुपी
आस्थाको अर्को नाम हे प्रिय साथी
शुभकामना तिमीलाई जन्मदिनको मंगल कामना

Tuesday, September 7

झरी

आऊ रुझौं झरीमा रुझौं मस्त यो वर्षातमा
तिमीलाई छोडी म टाढा जाँदा सम्झी रम्न अर्को वर्षातमा

तिमीसँग बस्न दिन्नन् मलाई समय रानी रिसाउँछिन्
पूरा गर्नुपर्ने धेरै छन् सपना यही बताई डराउँछिन्
तिमीसँग हुँदाको हरेक पल तिमीमै डुबाउन चाहन्छु
तिम्रो काखमा निदाई तिमीमै हराउन चाहन्छु
भोली टाढा जाँदा नरिसाए प्रिय
एक्लो भई न छट्पटाए प्रिय
म तिमीलाई नै पलपल सम्झीरहन्छु
तिम्रै निम्ति बाँचिरहन्छु

गुनासो भए पोख म सुुन्छु सबैथोक
पीडा भए पोख म थाम्छु सबै पीर
जानु त पर्छ नै रोकिनुहुन्न
मनमा तिमी छौ म एक्लो नि छैन
हाम्रा सपना छन् अमूल्य
तिनको निम्ति हामी टाढिनु छ
निराश नबने प्रिय
एक्लो नठाने प्रिय
यो छातिभित्र धड्किने मुटु तिम्रै नाम लिन्छ
जता हेरे नि मेरो आँखाले तिम्रै रुप देख्छ

तिमीलाई भेट्न तिमीसँगै बस्न फर्कन्छु कुनै अर्को वर्षातमा
आऊ नाचौं झरीमा रुझौं मस्त यो वर्षातमा